काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद देखिएका १३ जिल्लाको अधिवेशन दसैंपछि सुरु गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले विवाद देखिएका ती जिल्लामा दसैंपछि जिल्ला अधिवेशन सुरु गर्ने तयारी गरेको हो । निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले क्रियाशील सदस्यता विवाद देखिएका १३ जिल्लाहरुमा दसैंपछि नयाँ कार्यतालिकाअनुसार निर्वाचन गरिने जानकारी दिएका छन् ।
यद्यपि, कांग्रेसले १३ मध्ये १० जिल्लाको विवाद समाधान गरिसकेको छ। निर्वाचन समिति सदस्य रावलका अनुसार रसुवा, बारा र रौतहटको विवाद टुंगिन बाँकी छ। यी जिल्लाको विवाद समाधान भएपछि नयाँ संशोधित कार्यतालिका निकालेर अधिवेशन गर्ने जानकारी उनले दिए।
रावलले सदस्यता विवादपछि आगामी महिनाको पहिलो साताभित्र १३ जिल्लामा वडा र गाउँ÷नगरपालिका अधिवेशन गर्ने गरी नयाँ कार्यतालिका जारी गरिने बताए। कांग्रेसले अहिले ६४ जिल्लाहरुमा अधिवेशन गरिरहेको छ। जसमध्ये तराई र पहाडमा वडा र गाउँ÷नगरपालिका अधिवेशन भइसकेको छ। तराई र पहाडी जिल्लामा दसैंपछि मात्रै गाउँ÷नगरपालिकाभन्दा माथिल्लो तहका अधिवेशन गरिने कांग्रेसले जनाएको छ।
हालसम्म पालिका अधिवेशन भएकामध्ये प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विवाद छ। डडेल्धुरामा संस्थापन पक्षले प्रशासनको बलमा अधिवेशन गराएको संस्थापनइतर समूहको आरोप छ। कांग्रेसले हिमाली क्षेत्रमा पर्ने २१ जिल्लामा दसैं अगाडि नै जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ। तालिकाअनुसार १७ हिमाली जिल्लामा अधिवेशन चलिरहेको छ।
१७ मध्ये १० जिल्लाको चुनावी परिणाम आइसकेको छ। जसमध्ये ६ जिल्लामा संस्थापनइतर समूह र ४ जिल्लामा संस्थापन पक्षीय उम्मेदवार विजयी भएका छन्। हिमाली जिल्ला दार्चुला, सोलुखुम्बु, डोल्पा र रसुवामा जिल्ला अधिवेशन हुन बाँकी छ। दार्चुला र सोलुखुम्बुमा गाउँ-नगर अधिवेशन सम्पन्न भइसकेको छ।
वडा अधिवेशन नै सुरु नभएका १३ मध्ये डोल्पामा क्रियाशील सदस्यता विवाद टुंगिए पनि रसुवाको विवाद कायम छ। विवाद टुङ्ग्याएर निर्वाचनको तयारी गरिए पनि निर्वाचन अधिकृत जान नमानेकाले डोल्पामा वडा अधिवेशन सुरु हुन सकेको छैन।