काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भ्रातृ संगठन अखिल क्रान्तिकारीको नयाँ अध्यक्ष छान्न असफल भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले अध्यक्षका दाबेदार केही नाममा छलफल गरे पनि टुंगो लगाउन नसकेको जानकारी प्रवक्ता कृष्णबहादुर महराले दिएका छन् । 'यो बैठकमा भ्रातृसंगठन अखिल क्रान्तिकारीको अध्यक्षबारे छलफल भएको छ। तर अध्यक्षका दाबेदारहरु उत्तिकै क्षमतावान भएकाले एउटा नाममा टुंगो हुन सकेन', महराले भने, 'क्रान्तिकारीको अध्यक्ष छान्ने जिम्मा बैठकले पार्टी अध्यक्ष कमरेडलाई दिएको छ।'
स्थायी कमिटीले नेतृत्व छान्न नसकेपछि थप निर्णयका लागि दाबेदार नेताहरुसँग प्रचण्डसहित माओवादीका शीर्ष नेताले आइतवार पनि छलफल गर्ने भएका छन् । 'भोलि फेरि क्रान्तिकारीको नेतृत्वका दाबेदारसँग शीर्ष नेतृत्वसँग बस्ने कुरा भएको छ', एक स्थायी कमिटी सदस्यले भने, 'नेतृत्वको टुंगो लगाउन बसेको बैठकले नाममा सहमति नजुटाएपछि यस्तो निर्णय भएको हो।'
माओवादीले सम्भावित नाम टुंगो नलगाए पनि राजधानीमा जारी अखिल क्रान्तिकारीको २२ औँ सम्मेलनले तल्लो तहको नेतृत्वको भने टुंगो लगाइरहेको छ। अध्यक्षबाहेक अरु पदमा क्रान्तिकारीले नेतृत्वको टुंगो गरिरहेको छ। अखिल क्रान्तिकारीको नयाँ अध्यक्षका लागि सुरेन्द्र बस्नेत र पञ्चा सिंह प्रतिस्पर्धामा देखिएका छन्। बस्नेत अहिले वरिष्ठ उपाध्यक्षको भूमिका छन्। उता सिंह उपाध्यक्षको जिम्मेवारीमा छन् । यी दुईबाहेक उपाध्यक्षहरू तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतमसँगै महासचिव उत्तम अधिकारी अध्यक्षको प्रतिस्पर्धामा देखिएका छन् ।
माओवादीले बस्नेत र सिंहमध्ये एकलाई अध्यक्ष बनाउने तयारी गरेको छ। बस्नेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिन्छन्। सिंह अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' निकटका रुपमा चिनिन्छन् । यसअघि अखिल क्रान्तिकारीको नेतृत्वका लागि दौडमा रहेकाहरूसँग प्रचण्डले छलफल गरिसकेका छन् ।