काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा आज समूहगत छलफल हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि विभिन्न १० समूहमा छलफल हुने एमालेले जनाएको छ ।
बिहान ८ बजेदेखि छलफल सुरु भएको र दिउँसो टोली नेताहरूले छलफलको निष्कर्ष पेस गर्ने कार्यक्रम छ । समूह ‘क’ को अध्यक्षता देवराज घिमिरेले गर्ने छन् भने सहजीकरणका लागि भीम आचार्य र सुवास नेम्वाङलाई तोकिएको छ । समूह ‘ख’ को अध्यक्षता ज्वाला साहले तथा सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्ने छन् ।
समूह ‘ग’ को अध्यक्षता आनन्द पोखरेलले गर्ने छन् भने सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई दिइएको छ । समूह ‘घ’ को अध्यक्षता जगत विश्वकर्माले तथा सहजीकरण किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङले गर्ने छन् ।
समूह ‘ङ’ को अध्यक्षता लीला गिरि तथा सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले तथा समूह ‘च’ को अध्यक्षता गोरखबहादुर बोगटी तथा सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेलले गर्नेछन् । यसैगरी, उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरूका प्रतिनिधिहरूको समूहको अध्यक्षता सुजिता शाक्यले गर्ने छन् भने सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।
एमाले विधानमा ७० वर्षे प्रावधान अहिले पनि निरन्तर रहने प्रस्ताव गरिएको छ । तर, कार्यकालको बीचमै ७० वर्ष पुगे के गर्ने भन्ने विषयमा भने प्रष्ट छैन । यो प्रस्ताव पारित भएमा तत्काल अध्यक्ष ओलीलाई फाइदा पुग्छ भने दोस्रो तहका धेरै नेता अर्को महाधिवेशनपछि कार्यकारी पदमा जान पाउने छैनन् ।
भोलिसम्म चल्ने विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा नेता कार्यकर्ता सहभागी छन् । एमालेले विधान महाधिवेशनबाट पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन खोजेको सन्देश दिएको छ ।