काठमाडौं । प्रतिनिधिसभाको २०७७ पुस ५ को विघटनपछि आफ्नो अगाडि तत्कालीन प्रधानमन्त्री र नेकपाका अध्यक्ष केपी शर्मा ओली अगाडि आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प मात्र थिए भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूले लड्ने विकल्प रोजेको बताए ।
सत्ताबाट सडकमा पुग्दा कार्यकर्ताले सहयोग गर्ने हो कि होइन भन्ने अवस्थामा आफूहरू पुसको चिसोमा पनि सडकमा आएको उनको भनाइ थियो। आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमनको काम भयो । संविधानका उपलब्धि उल्ट्याउने कुरा भयो । क्रान्तिकारी एजेन्डा, माओवादी आन्दोलन सिध्याउने, घेराबन्दीमा राख्ने र सखाप पार्ने काम भएको थियो । प्रतिनिधिसभा विघटन गर्नु मात्रै थिएन त्यसको लक्ष्य संविधानका उपलब्धि उल्ट्याउनु थियो । माओवादी आन्दोलनको विरासत उल्ट्याउने षड्यन्त्र थियो, दाहालले भने, अब फेरि लडाइँ गर्ने कि आत्मसमर्पण गर्ने भन्ने विकल्प थिए । आत्मसमर्पण त मैले गर्न सक्दैन ।
हजारौं सहिदहरूको ऋण मेरो टाउकोमा छ । या त मैले सुसाइड (आत्महत्या) गर्नुपर्ने थियो या त लड्नपर्ने । अब लड्ने कि मर्ने १ मुक्ति वा मृत्युको ठाउँमा पुगेको देखेँ । त्यसपछि आफ्नो टीमा नेताहरूले मिलेर लड्ने निर्णय लिएको दाहालले बताए । उनले भने,पार्टीका टीमका साथीहरूको सहयोगबाट फेरि लड्ने, क्रान्तिकारी ढंगले लड्ने, जोखिम उठाएर लड्ने निर्णय भयो । जेल जान पर्ने भएपनि जेल जाने, मारिनुपर्ने भए पनि मर्ने संकल्प हामीबाट भयो । पछिल्लो समय माओवादी नेताहरू बिग्रिन लागेको भन्ने अभिव्यक्ति पनि दाहालले दिएका छन् ।
हामी बिस्तारै-बिस्तारै, थाहै नपाइकन गएको १०-१५ वर्षयता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ, उनले भने । पार्टीको नेतृत्वमा पुगेकाहरू अवसरवादी बन्न पुगेको पनि उनको भनाइ थियो । पद, प्रतिष्ठा, पैसा, कमिसनको निम्ती दलाल पुँजीपतिका हितहरूप्रति बढी संवेदनशील भएका र आफ्नै वर्ग यो परिवर्तनको निम्ती त्याग गरेकालाई बिस्मृतिमा पारिएको पनि उनले बताए । जो जतिमाथि नेतृत्वमा पुग्यो, त्यो त्यति अवसरवादी । जो जति धेरै मन्त्री भयो, त्यो त्यति धेरै अवसरवादी, उनले थपे, जसलाई धेरै पटकमन्त्री बनाए ती पार्टीबाट पतन भए । जो जतिमाथि आयो त्यो त्यति पतन भयो ।