काठमाडौं । ‘सर्वदलीय’ बैठकले नेकपा (एमाले) सहमतिबाट भाग्न खोजेको निष्कर्ष निकाल्दै जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।बिहीबार प्रधानमन्त्री शेरबहादु्र देउवाले डाकेको सर्वदलीय बैठकले यसअघि सभामुखले बोलाएको सर्वपक्षीय बैठकमा पनि एमाले अनुपस्थित भएको भन्दै सहमतिको आवश्यकताका बेला एमालेले फरक बाटो अंगीकार गरेको निष्कर्ष निकालेको हो ।
“प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दल सहभागी हुनुभयो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएन,” बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, “यसअघि, सभामुखले बोलाएको सर्वपक्षीय बैठकमा पनि उहाँहरू अनुपस्थित हुनुभएको थियो ।”
सर्वदलीय बैठकले एमालेको अनुपस्थितिलाई संवाद र वार्ताबाट एमाले भाग्न खोजेको रूपमा अर्थ्याएको छ । “उहाँहरू संवाद र वार्ताबाट पर भाग्न खोज्न खोजेजस्तो देखिएको छ । जुन कुरा आजको आवश्यकताभन्दा भिन्न छ,” सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने, “आज संसद्मा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलका नेताहरूको भने उपस्थिति थियो ।”
प्रधानमन्त्री देउवाले आजको बैठकमा एमाले नआए पनि अबका बैठकमा पनि आमन्त्रण गर्ने भन्दै एमालेबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको बताएको उनले जानकारी दिए । “आज नआए पनि हामी फेरिफेरिका बैठकमा उहाँहरूलाई बोलाउँछौँ भनेर सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ,” मन्त्री कार्कीले भने, “संघीय संसद्लाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउनका निमित्त प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र यसका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक रूपमा भूमिका निर्वाह गर्न बैठकले अपिल गरेको छ ।”
उनले प्रतिनिधिसभामा ३३ वटा विधेयकहरू र राष्ट्रियसभामा २७ वटा विधेयकहरू विचाराधीन रहेका भन्दै ती विधेयक अघि बढाउन संघीय संसद्को सञ्चालन आवश्यक भएको बताए । “यी सबै जनताको सरोकारसँग जोडिएका विधेयकहरू हुन्,” कार्कीले भने, “यी सबै विधेयकलाई अघि बढाउनका लागि संघीय संसद्को सञ्चालन आवश्यक छ ।”
कार्कीले संघीय संरचनको आह्वानमा गरिएको सर्वदलीय बैठक एमालेजस्ता प्रमुख प्रतिपक्षी दलबाटै अवरुद्ध हुनु सकारात्मक नभएको बताए । “राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्मा जारी अवरोध हटाउनका निमित्त प्रधानमन्त्रीले पहल गरिदिनुपर्यो भनेर रुलिङ गर्नुभएको थियो,” कार्कीले भने, “त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी एमाले र अध्यक्ष केपी शर्मा ओलीसहित सबैलाई आमन्त्रण गरिएका थियो ।”