काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केहिमहिना अघि सम्पन्न निर्वाचनमा ठुलो रकमको चलखेल भएकाले तत्काल कारबाहीको माग गरिएको छ ।
राजधानीमा आज एक समुहले पत्रकार सम्मेलन गर्दै एन्फाका मुख्य केहि पदाधीकारीले निर्वाचनका बाहनामा ठुलो रकमको भ्रष्टाचार र अनियमितता गरेकाले कारबाहीको माग गरे । उनिहरुले रकम चलखेल भएको भन्ने ठोस प्रमाणस्वरुप अडियो टेप सार्वजनिक पनि गरेका छन् ।
काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले एन्फाको वर्तमान नेतृत्वमा रहेका केही व्यक्तिले चुनावको परिणाम आफ्नो पक्षमा पार्न ठुलो रकमको अनियमितता गरेको दावी गरे ।
निर्वाचन आफ्नो पक्षमा पार्न निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, अदालतमा पनि आर्थिक चलखेल मार्फत् प्रभाव पार्न खोजेको, मताधिकार प्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचन अघि ठूलो धनराशी खर्चेर मतदातालाई भारतको सिक्किममा लगेर क्लोज क्याम्पमा राखेको, हवाई टिकटमा ठूलो धनराशी खर्चेको लगायतका कुराकानी भएको अडियो सार्वजनिक गरिएको थियो ।
टेप सार्वजनिक गर्ने क्रममा उनीहरुले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक लेखा समिति र राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रमाणसहित उजुरी गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष एवं एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुखजु, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा र धादिङका अध्यक्ष दीपक खतिवडाले टेप सार्वजनिक गरेका हुन् ।