काठमाडौं । नेपाल सरकारले अब हाइड्रोजनमा आधारित सवारीसाधन सञ्चालनको तयारी थालेको छ। यसका लागि आवश्यक नीति, कानुनी व्यवस्था र प्राविधिक आधार तयार पार्न पूर्वाधार विकास मन्त्रालयले सरोकारवालासँग सुझाव संकलन सुरु गरेको हो।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै हाइड्रोजन प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, इन्धन उत्पादन, भण्डारण, ढुवानी, वितरण तथा हाइड्रोजन इन्धन भर्ने पूर्वाधारबारे सुझाव मागेको छ। साथै, हाइड्रोजन प्रविधिमा आधारित सवारीसाधन सञ्चालनका लागि आवश्यक दिशानिर्देशबारे पनि राय संकलन भइरहेको मन्त्रालयले जनाएको छ।
सरकारले अहिले सञ्चालनमा रहेका पेट्रोल, डिजेल तथा अन्य इन्धनबाट चल्ने सवारीलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्न सकिने सम्भावना, त्यसका लागि आवश्यक प्रविधि, लागत, सुरक्षा तथा नियामकीय पक्षबारे समेत सुझाव मागेको छ।
यस्तै, हाइड्रोजन प्रविधिको सुरक्षित प्रयोगका लागि आवश्यक प्राविधिक जनशक्ति, नियामक निकायको क्षमता अभिवृद्धि, उद्धार तथा आपतकालीन सेवाको तयारी र दक्ष जनशक्ति विकासका विषयमा पनि सरोकारवालाले सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार यो पहल नेपालमा स्वच्छ, सुरक्षित र दिगो ऊर्जामा आधारित यातायात प्रणाली विकास गर्ने दीर्घकालीन योजनाको हिस्सा हो। प्राप्त सुझावका आधारमा हाइड्रोजनमा आधारित सवारीसाधन सञ्चालनका लागि आवश्यक नीति, कानुन र प्राविधिक मापदण्ड तयार गरिने सरकारको तयारी छ।