काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका खम्बामा गुजुल्टिएका र सडकपेटीमा लत्रिएका प्रयोगविहीन इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले सम्बन्धित निकायलाई दुई साताभित्र कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आईस्पानलाई साउन दोस्रो साताभित्र पहिलो चरणको काम सम्पन्न गर्न निर्देशन दिएको हो।
सरकारले पहिलो चरणमा त्रिपुरेश्वर-कालिमाटी-कलंकी, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुशी-टाउन प्लानिङ-गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर-गौशाला-चाबहिल क्षेत्रमा प्रयोगविहीन तार हटाउने योजना बनाएको छ। बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई समन्वयकारी भूमिका दिँदै सबै सेवा प्रदायकले आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ट्याग राख्नुपर्ने, नियमित समन्वय गर्ने र कामको प्रगतिको निरन्तर समीक्षा गर्ने निर्णय पनि गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम बढेको र सहरी सौन्दर्यसमेत प्रभावित भएको उल्लेख गर्दै अब समाधानमुखी भएर काम गर्नुपर्ने बताए। उनले प्रयोगविहीन केबल तत्काल हटाउन तथा आवश्यक सहयोगका लागि मन्त्रालयलाई जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिए।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले दीर्घकालीन समाधानका लागि सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले पाइलट परियोजनाका रूपमा सुरु हुने यो अभियानलाई क्रमशः उपत्यकाका अन्य क्षेत्रमा विस्तार गरिने जानकारी दिँदै, पूर्वाधार कम्पनी स्थापना र कानुनी सुधारका कामसमेत अघि बढिरहेको बताए।