काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै नेपाली कलाकार पनि समयअनुकूल प्रविधिमा दक्ष बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्ले शनिबार आयोजना गरेको ‘सङ्गीत र प्रविधि’ विषयक कार्यक्रममा प्रशिक्षक राजेन्द्र अर्यालले गीत-सङ्गीतको सिर्जना मात्र पर्याप्त नभई त्यसलाई डिजिटल माध्यममार्फत विश्वव्यापी रूपमा प्रवर्द्धन र व्यावसायीकरण गर्न कलाकारहरू सक्षम हुनुपर्ने बताए।
उनले अडियो तथा भिडियो स्ट्रिमिङ प्लेटफर्म, टिकटक, फेसबुक, युट्युबलगायत विभिन्न डिजिटल माध्यमबाट आफ्नो सिर्जनालाई दर्शक-श्रोतासम्म पुर्याउने र त्यसबाट आम्दानी गर्ने तरिकाबारे कलाकार जानकार हुन आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर कार्कीले प्रविधि र कला एकअर्काका परिपूरक बन्दै गएको भन्दै कलाकार र प्रविधिविज्ञबीच सहकार्य तथा अनुभव आदानप्रदानलाई थप मजबुत बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा कलाकार खड्ग गर्बुजा, नरहरि प्रेमी, टीका पुन, रामकुमार कार्की, वैकुण्ठ महत, गोविन्दमधुर आचार्य, राजकुमार रायमाझी, ईश्वरी भुसाल (मादले दाइ), विष्णु खत्री तथा सङ्गीतकार शशी शर्मा मजगैयालगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत नेपाली गीत-सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने र कलाकारको आर्थिक सशक्तीकरणमा नयाँ अवसर सिर्जना गर्न सकिने निष्कर्षसमेत निकालिएको छ।