काठमाडौं । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। निकुञ्ज प्रशासनले पर्यटकको सुरक्षा, वनपथको अवस्था तथा वन्यजन्तुको संरक्षणलाई मध्यनजर गर्दै सफारी सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा निकुञ्जभित्रका कच्ची सडक हिलाम्मे हुने, खोलाखोल्सीमा आकस्मिक बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुने जोखिम उच्च रहने भएकाले सफारी सञ्चालन गर्न उपयुक्त नहुने अवस्था सिर्जना हुन्छ। यही कारणले प्रत्येक वर्ष मनसुन अवधिभर सफारी सेवा बन्द गर्ने अभ्यासलाई निरन्तरता दिइएको हो।
उनका अनुसार यो समय वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननको संवेदनशील मौसम पनि भएकाले उनीहरूको प्राकृतिक बासस्थान र गतिविधिमा अनावश्यक हस्तक्षेप नहोस् भन्ने उद्देश्यले पनि सफारी स्थगित गरिएको हो। यसले वन्यजन्तुको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास निकुञ्ज प्रशासनको छ। निकुञ्ज प्रशासनले मौसम अनुकूल भई वनपथको अवस्था सामान्य बनेपछि, सामान्यतया दसैँ आसपास, जङ्गल सफारी सेवा पुनः सञ्चालन गरिने जनाएको छ।
यद्यपि, चितवन राष्ट्रिय निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुँदै आएका जीप सफारी भने नियमित रूपमा जारी रहनेछन्। सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न क्षेत्रबाट पर्यटकहरूले सामुदायिक वनमार्फत सफारीको अनुभव लिन सक्ने व्यवस्था यथावत् रहेको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरूले दुर्लभ एकसिंगे गैँडा, बाघ, हात्ती, घडियाल मगर, विभिन्न चराचुरुङ्गी तथा समृद्ध जैविक विविधताको अवलोकन गर्दै प्राकृतिक सौन्दर्यको अनुभव लिने गरेका छन्।