काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ४४ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार देशका विभिन्न जिल्लामा आगलागी, वन डढेलो, चट्याङ, बाढी, पहिरो, सर्पदंश तथा लेक लाग्ने जस्ता विपद्का घटनाहरू रिपोर्ट भएका हुन्। सबैभन्दा धेरै हुरीबताससम्बन्धी २२ वटा घटना भएका छन्, जसमा ३ जनाको मृत्यु र ५ जना घाइते भएको उल्लेख गरिएको छ। त्यस्तै आगलागीका ६, वन डढेलोका ७, चट्याङका १, बाढीका १, पहिरोका ३, सर्पदंशका ३ र लेक लाग्ने १ घटना भएका छन्।
प्राधिकरणका अनुसार ती घटनाबाट ११ जना घाइते भएका छन् भने ११ वटा चौपायाको समेत क्षति भएको छ। आर्थिक रूपमा करिब २५ लाख १६ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको विवरण सार्वजनिक गरिएको छ।
त्यसैगरी, विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि देशभर ४८७ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। हालसम्म सडक अवरोधको कुनै घटना भने रिपोर्ट नभएको पनि बुलेटिनमा उल्लेख गरिएको छ।