काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री शाह महासभालाई सम्बोधन गरेपछि शुक्रबार राति न्यूयोर्कबाट दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाह आफ्नो टोलीसहित न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशका लागि प्रस्थान गरेका हुन् । नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डीसीस्थित नेपाली दूतावासका चार्जे द अफेयर्स शरदराज आरण, न्यूयोर्कस्थित नेपाली कन्सुल जनरल दधिराम भण्डारीलगायतले उनलाई विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट सम्बोधन गरेका थिए । आफ्नो सम्बोधनमा उनले नेपालमा हालै आएको भोटेकोशी बाढीलाई हिमालय क्षेत्रमा बढिरहेको जलवायुजन्य जोखिमसँग जोड्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले सीमाना नचिन्ने उल्लेख गर्दै हिमालय क्षेत्रका मुलुकबीच सहकार्य आवश्यक रहेको बताएका थिए । उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका थिए । जोखिमयुक्त हिमतालको नियमित अनुगमन, संयुक्त पूर्वसूचना प्रणालीको विकास तथा विपद्का बेला सीमापार उद्धार र सहयोगका लागि समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गरेका थिए । यो भ्रमण प्रधानमन्त्री बनेपछि शाहको पहिलो विदेश भ्रमण थियो र परराष्ट्र मन्त्रालयका अनुसार उनी सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम थियो।
प्रधानमन्त्री शाहसँगै गएको टोली स्वदेश फर्किए पनि परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरूले महासभाका विभिन्न बैठक तथा कार्यक्रमहरूमा सहभागिता निरन्तरता दिनेछन् । परराष्ट्रमन्त्री खनाल भने सेप्टेम्बर २९ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।