काठमाडौं । नेपाल प्रहरीले आगामी तीन वर्षका लागि लागू हुने ‘नेपाल प्रहरी रणनीतिक योजना २०८३-२०८५’ सार्वजनिक गरेको छ। “नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण” भन्ने मूल नारासहित ल्याइएको रणनीतिक योजनाले प्रहरी संगठनलाई प्रविधिमैत्री, उत्तरदायी तथा नागरिकमैत्री बनाउने लक्ष्य लिएको हो।
नेपाल प्रहरीले “सुरक्षित समुदायका लागि चुस्त प्रहरी सेवा” भन्ने रणनीतिक अवधारणालाई अघि सार्दै प्रहरी संस्थालाई अझ सक्षम, व्यावसायिक, भरोसायोग्य र उत्तरदायी निकायका रूपमा विकास गर्ने उद्देश्य राखेको जनाएको छ।
प्रहरी मुख्यालयका अनुसार यसअघि कार्यान्वयन गरिएको रणनीतिक योजना २०८०-०८२ को समीक्षा गर्दै नयाँ योजना तयार गरिएको हो। अघिल्लो योजनामा समेटिएका ९३ मुख्य लक्ष्य र ४० कार्यगत उद्देश्यहरूमध्ये अधिकांश कार्य प्रगतिउन्मुख रहेको प्रहरीको दाबी छ।
प्रहरीले विगत तीन वर्षमा ६४ वटा नीति, निर्देशिका, मापदण्ड तथा कार्यविधि निर्माण गरेको जनाएको छ। साथै विभिन्न प्रहरी कार्यालयमा सहायता कक्ष निर्माण, ‘वेपन क्लियरिङ पिट’ स्थापना, इन्ट्रानेट सेवा विस्तार, सीसीटीभी जडान, पुस्तकालय तथा भवन निर्माणलगायत पूर्वाधार विकासका कार्य सम्पन्न गरिएको उल्लेख गरिएको छ।
नयाँ रणनीतिक योजनाले सात प्रमुख रणनीतिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ। जसअन्तर्गत नीति, योजना तथा अन्तरनिकाय समन्वय, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानव स्रोत विकास, भौतिक पूर्वाधार तथा सहायक सेवा तथा सूचना प्रविधि समावेश छन्।
योजनामा कृत्रिम बौद्धिकता (Artificial Intelligence) सहित आधुनिक सूचना प्रविधिको प्रयोग बढाउँदै प्रहरी सेवाको प्रभावकारिता, चुस्तता तथा नागरिक पहुँच अभिवृद्धि गर्ने उल्लेख गरिएको छ। साथै समुदाय-प्रहरी साझेदारी, समस्या केन्द्रित प्रहरी सेवा तथा सूचना-आधारित अनुसन्धान प्रणालीलाई थप सुदृढ बनाइने जनाइएको छ।
नेपाल प्रहरीले रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक कार्ययोजना तयार गरिने तथा सबै प्रहरी इकाइमार्फत कार्यसम्पादन सम्झौताका आधारमा योजनाका कार्यक्रम कार्यान्वयन गरिने जनाएको छ।