काठमाडौं । प्रदर्शनरत नेपाली चलचित्र ‘लालीबजार’ बन्द गर्नुपर्ने माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’ तथा ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी डा. रोशनी नेपाली वादीले न्यायका लागि अदालत पुगे पनि आफूहरूले न्याय नपाएको गुनासो गरिन्।
उनले उच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दै अन्तरिम आदेशमार्फत फिल्म प्रदर्शनलाई अनुमति दिएकोप्रति असन्तुष्टि व्यक्त गरिन्। “हामीले न्यायको अपेक्षासहित अदालत पुगेका थियौँ, तर फिल्म चलाउन अनुमति दिइएपछि न्याय पैसामा बिक्दो रहेछ भन्ने अनुभूति भयो,” उनले भनिन्।
डा. वादीले उक्त मुद्दाको आगामी सोमबार सर्वोच्च अदालतमा पेशी रहेको जानकारी दिँदै आफूहरूको मुख्य माग चलचित्र पूर्ण रूपमा बन्द गरिनुपर्ने रहेको स्पष्ट पारिन्। “हाम्रो माग केही दृश्य हटाउने वा काटछाँट गर्ने होइन, ‘लालीबजार’ नै बन्द हुनुपर्छ भन्ने हो,” उनले भनिन्।
चलचित्र निर्माण टोलीले वादी समुदायसँग सहकार्य गरेर कथा निर्माण गरिएको दाबी गर्दै प्रचार गरेको विषयमा पनि उनले आपत्ति जनाइन्।
प्रदर्शनकारीहरूले वादी समुदायको सम्मान र पहिचानमाथि चोट पुग्ने सामग्री चलचित्रमा समावेश गरिएको आरोप लगाएका छन्।