काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म रोल नं १ ले फरक शैलीमा प्रचार अभियान सञ्चालन गरेको छ। बालबालिकाको कथामा आधारित फिल्मले आफ्नो लक्षित दर्शकलाई केन्द्रमा राख्दै मोफसलका विभिन्न विद्यालयमा पुगेर प्रत्यक्ष प्रचार गरिरहेको हो।
‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मनको कुरा’ भन्ने स्लोगनसहित सुरु गरिएको स्कुल प्रचार अभियान वैशाख २१ गतेदेखि पूर्वी नेपालका जिल्लाहरूमा सञ्चालन भइरहेको निर्माता विनोद पौडेल ले जानकारी दिएका छन्। अभियान २५ वैशाखसम्म जारी रहने बताइएको छ।
अहिलेसम्म झापा, मोरङ, सुनसरी, दमक र बिर्तामोडका विभिन्न विद्यालयमा पुगेर फिल्मका कलाकारहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गरिसकेका छन्। प्रचार कार्यक्रममा कलाकार मुकुन भुसाल, रेणु योगी, कर्मा लामा तथा गायक–संगीतकार प्रशान्त सिवाकोटी सहभागी छन्। विद्यालयहरूमा गायक सिवाकोटीले फिल्ममा समावेश गीत ‘रोल नं वान’ प्रस्तुत गर्ने गरेका छन् भने विद्यार्थीलाई फिल्मको टिजर र गीतसमेत देखाइँदै आएको छ।
विद्यार्थीको मनोविज्ञान र विद्यालय जीवनको कथामा आधारित फिल्ममा सुशांक मैनाली, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको निर्देशन जोन योञ्जन ले गरेका हुन् भने कथा तथा पटकथा महेश दवाडी को रहेको छ। फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन्। निर्माता पौडेल यसअघि चर्चित नेपाली फिल्म पूर्ण बहादुरको सारङ्गी का निर्माता समेत हुन्।