काठमाडौं । अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणको नाममा सार्वजनिक बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, गाउँपालिकाले प्रख्यात अभिनेता राजेश हमाल को निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भनी नियमविपरीत १५ लाख रुपैयाँको सम्झौता गरेको थियो। पछि करिब १३ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।
मुद्दामा प्रतिवादी बनाइएको व्यक्ति हुन्स् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह, लेखापाल विमल साउद, र चलचित्र निर्माण जिम्मेवार रामजी लम्साल (रामबहादुर लम्साल), अध्यक्ष, आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन, काठमाडौं।
अख्तियारले चारै प्रतिवादीबाट जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो माग गरिएको जनाएको छ। अनुसन्धानमा देखिएको छ कि, कानुनी व्यवस्था अनुसार २० प्रतिशत मात्र पेस्की दिन सकिन्थ्यो, तर गाउँपालिकाले ५८ प्रतिशतसम्म पेस्की दिएको थियो।
साथै, चलचित्र निर्माणका लागि घर भाडा र अन्य खर्चका नाममा नक्कली तथा झुट्टा बिल पेश गरी भुक्तानी लिएको आरोप अभियोग पत्रमा उल्लेख छ। हिउँदे अधिवेशनबाट कार्यक्रम संशोधन र रकम हस्तान्तरण गर्ने प्रक्रियामा हिनामिना गरिएको पनि भनिएको छ।
अख्तियारले यस मुद्दालाई विशेष अदालतमा दायर गर्दै भ्रष्टाचार रोकथाममा कडा कदम चाल्ने संकेत गरेको छ।