काठमाडौं । प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को टिमले बिहीबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा युवासँग रचनात्मक छलफल गरेको छ। कार्यक्रममा ५ सयभन्दा बढी विद्यार्थी र युवा सहभागी थिए।
छलफलमा ३० जना युवाले आफ्ना विचार व्यक्त गर्दै निर्देशक दिनेश राउतका अघिल्ला फिल्महरूको प्रशंसा गरेका थिए। उनीहरूले नेपाली फिल्मले संस्कृति, मौलिकता र युवापुस्ताको भावना समेट्नुपर्नेमा जोड दिए। केही युवाले विदेशी फिल्मतर्फ आकर्षित हुनुको कारण नेपाली फिल्मले युवाको अपेक्षा पूरा गर्न नसक्नु भएको बताउनुभयो।
संगीतबारे युवाहरूले स्पष्ट धारणा व्यक्त गरे-गीतमा हिरो-हिरोइनको लुक्सभन्दा भावनात्मक गहिराइ महत्वपूर्ण छ। ‘कुमारी’को गीत ‘डोको बुन्ने’ले नेपाली मौलिकता प्रस्तुत गरेको भन्दै प्रशंसा भयो। साथै मिडियाले तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराइयो।
फिल्मका मुख्य अभिनेता अविसेक खड्काले आफू पश्चिमी फिल्मबाट प्रभावित भए पनि पछिल्लो समय नेपाली फिल्ममा प्रगति भइरहेको बताए। उनले ‘कुमारी’ युवापुस्ताको अपेक्षाअनुसार बनेको भन्दै दर्शकलाई हेर्न आग्रह गरे।
कार्यक्रममा निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, पार्श्व गायक केहर सिंह, सञ्चारकर्मी नरेश भट्टराई, प्राज्ञ सदस्य र मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको पनि उपस्थिति रहेको थियो। सहभागीहरूले फिल्म र संगीतले युवापुस्तालाई निराश नबनाउनुपर्नेमा जोड दिए।