काठमाडौं । अभिनेता हरिवंश आचार्यको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘भूठान’ विश्वप्रसिद्ध ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको छ। चलचित्रका निर्माता अविरल थापाका अनुसार ‘भूठान’ को अंग्रेजी शीर्षक ‘The World's Happiest Man' राखेर हाललाई नर्थ अमेरिका क्षेत्रमा रिलिज गरिएको हो।
चलचित्रलाई क्रमशः अन्य अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा पनि उपलब्ध गराउने तयारी भइरहेको चलचित्रका अर्का निर्माता राजेन्द्र ठकुराठीले जानकारी दिएका छन्। नेपालमा भने यो चलचित्र गत वैशाख महिनामा प्रदर्शन भएको थियो। ‘भूठान’ भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीहरूको जीवनकथामा आधारित छ। कथाले वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट आफ्नै जन्मभूमि भुटान फर्किन गरेको प्रयास, पराइ भूमिमा धर्म, संस्कार र संस्कृतिको भिन्नताले पार्ने मानसिक तथा सामाजिक प्रभावलाई संवेदनशील रूपमा प्रस्तुत गर्छ।
चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन्। उनका साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै, हलिउडका विश्वप्रसिद्ध अभिनेता बुरस डर्न ले पनि चलचित्रमा विशेष भूमिका निभाएका छन्।
‘भूठान’ हलिउडको SAG-AFTRA अन्तर्गत रहेर निर्माण गरिएको पहिलो नेपाली चलचित्र हो। यस चलचित्रमा केही हलिउडका प्राविधिकहरूले समेत काम गरेका छन्। चलचित्रको निर्देशन विनोद पौडेल ले गरेका हुन्। चलचित्रका निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन्। कार्यकारी निर्माताको रूपमा विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट र अपार श्रेष्ठ रहेका छन्।
‘भूठान’ लाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट को सहकार्यमा नेपालस्थित अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्स ले संयुक्त रूपमा निर्माण गरेका हुन्।