एजेन्सी । अभिनेता शाहिद कपूरको आगामी क्राइम ड्रामा फिल्म ‘ओ रोमियो’ रिलिजअगावै ठूलो विवादमा फसेको छ। चर्चित निर्देशक विशाल भारद्वाजको निर्देशनमा बनेको यस फिल्मका निर्माताले कुख्यात मुम्बई ग्याङ्गस्टर हुसेन उस्ताराकी छोरी सानोबर शेखबाट २ करोड रुपैयाँ क्षतिपूर्तिको मागसहितको पत्र प्राप्त गरेका छन्।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामा का अनुसार उक्त पत्र गत साता निर्माता साजिद नाडियाडवाला र निर्देशक विशाल भारद्वाजलाई पठाइएको हो। पत्रमा फिल्म ‘ओ रोमियो’ ले हुसेन उस्तारालाई नकारात्मक रूपमा चित्रण गरेको आरोप लगाउँदै यसले परिवारको प्रतिष्ठामा आँच पुर्याएको दाबी गरिएको छ।
सानोबर शेखले फिल्मको प्रदर्शन तत्काल रोक्न वा रद्द गर्न माग गर्दै, आफ्ना आपत्तिहरू समाधान नभएसम्म फिल्म सार्वजनिक नगर्न चेतावनीसमेत दिएकी छन्। साथै, कथित रूपमा आफ्नो परिवारको छविमा परेको क्षतिको क्षतिपूर्तिस्वरूप २ करोड रुपैयाँ माग गरिएको उल्लेख गरिएको छ।
यद्यपि फिल्मका निर्माताहरूले ‘ओ रोमियो’ कुनै व्यक्तिको जीवनी नभई अप्राप्त प्रेम (unrequited Love) को पृष्ठभूमिमा बनेको एक भावनात्मक कथा भएको बताएका छन्। निर्माताका अनुसार फिल्मले प्रेम, पीडा र अस्वीकृत प्रेमका गहिरा तथा अपरिवर्तनीय परिणामहरूलाई प्रस्तुत गर्छ। हुसेन उस्तारा मुम्बईका कुख्यात ग्याङ्गस्टर थिए, जसको अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग गहिरो दुश्मनी रहेको बताइन्छ।
‘ओ रोमियो’ मा शाहिद कपूरसँगै त्रिप्ती डिम्री, तमन्ना भाटिया, अविनाश तिवारी, दिशा पाटनी र नाना पाटेकरको पनि अभिनय रहेको छ। साजिद नाडियाडवालाको निर्माणमा बनेको यो फिल्म फेब्रुअरी १३ मा प्रदर्शनमा आउने तय छ।