एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि योजनाबद्ध दोस्रो चरणको सैन्य हमला रद्द गरेको घोषणा गरेका छन्। भेनेजुएलाले ठूलो सङ्ख्यामा राजनीतिक बन्दीहरू रिहा गरेको तथा “शान्ति खोज्ने संकेत” देखाएको भन्दै ट्रम्पले यो निर्णय लिएको बताएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा लेख्दै भने,“यो अत्यन्तै महत्त्वपूर्ण र बुद्धिमानी कदम हो। अमेरिका र भेनेजुएला तेल तथा ग्यास पूर्वाधार पुनर्निर्माणमा राम्रोसँग सहकार्य गरिरहेका छन्।”उनका अनुसार भेनेजुएलाको सहकार्यका कारण दोस्रो सैन्य हमला आवश्यक नरहेको ठहर गरिएको हो, यद्यपि “सुरक्षा र सतर्कताका लागि” अमेरिकी युद्धपोतहरू यथास्थानमै रहनेछन्।
तेल उद्योगमा १०० अर्ब डलर लगानीको योजना
ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा ठूला अमेरिकी तेल कम्पनीका प्रमुखहरूसँग भेट गर्ने र भेनेजुएलामा कम्तीमा १०० अर्ब अमेरिकी डलर लगानी हुने दाबी गरेका छन्।“आज ह्वाइट हाउसमा ‘बिग आयल’ का प्रमुखहरूसँग भेट हुँदैछ,” ट्रम्पले लेखेका छन्।
अमेरिकी सञ्चारमाध्यम NBC News का अनुसार एक्सन मोबिल, शेभरन र कोनोकोफिलिप्सका प्रमुखहरू बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ। हाल भेनेजुएलामा सञ्चालन अनुमति पाएको एक मात्र अमेरिकी कम्पनी शेभरन हो। अन्य दुई कम्पनी सन् २००७ मा तत्कालीन राष्ट्रपति हुगो चाभेजसँग बहुमत स्वामित्व नदिने विवादपछि देश छाडेका थिए।
भेनेजुएलामाथि अमेरिकी नियन्त्रणको दाबी
ट्रम्प प्रशासनले बारम्बार भेनेजुएलालाई “अमेरिकाले चलाइरहेको” दाबी गर्दै आएको छ। ऊर्जा सचिव क्रिस राइटले अमेरिका भेनेजुएलाको तेल उद्योगलाई “अनिश्चितकालसम्म नियन्त्रणमा राख्ने” बताएका छन्।तर, कार्यवाहक अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो सरकार नै सत्तामा रहेको स्पष्ट पारेकी छन्। भेनेजुएलाको राज्य-नियन्त्रित तेल कम्पनीले अमेरिकासँग तेल बिक्रीसम्बन्धी वार्ता भइरहेको मात्र स्वीकार गरेको छ।
भेनेजुएलाको तेल शक्ति र चुनौती
भेनेजुएलासँग विश्वको करिब २० प्रतिशत तेल भण्डार रहे पनि सन् २०२४ मा विश्व कुल उत्पादनको मात्र १ प्रतिशत तेल उत्पादन भएको ओपेकको तथ्याङ्क छ। लामो समयदेखिको प्रतिबन्ध, लगानी अभाव र पूर्वाधार क्षतिका कारण उत्पादन खस्किएको हो।
ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारलाई अमेरिकी घरेलु इन्धन मूल्य घटाउने आफ्नो राजनीतिक लक्ष्यसँग जोडेर हेरेका छन्। तर, शासन स्थायित्व, सुरक्षा अवस्था र पूर्वाधार पुनःस्थापनाको ठूलो खर्चका कारण अमेरिकी कम्पनीहरूलाई लगानीका लागि राजी गराउन कठिन हुने विश्लेषकहरूको भनाइ छ।