काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्मप्रति समाजमा सकारात्मक सोच विकास गर्न र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले "छोरी जन्म प्रोत्साहन कार्यक्रम" सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत छोरी जन्माउने अभिभावकलाई प्रतिशिशु १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिने भएको छ।
गाउँपालिकाले बालिकाको जन्मलाई सम्मानित गर्दै उनीहरूको संरक्षण, शिक्षा र सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम अघि सारेको जनाएको छ। साथै, गर्भमै लिङ्ग पहिचान गरी हुने भ्रूण हत्या न्यूनीकरण गर्न र छोरीप्रतिको विभेदपूर्ण सोच अन्त्य गर्न पनि यसले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनका अनुसार चालु आर्थिक वर्षका लागि कार्यक्रम कार्यान्वयन गर्न पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटमार्फत २०८२ साल साउन महिनायता जन्मिएका छोरीका अभिभावक वा संरक्षकलाई १२ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिनेछ।
"छोरी जन्मप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै बालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो," उपाध्यक्ष पुनले भनिन्, "छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।"
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार २०८२ साउन १ गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले आवश्यक कागजातसहित असार ७ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ।
स्थानीय तहबाट छोरी जन्मलाई प्रोत्साहन गर्ने यस्तो कार्यक्रमले लैङ्गिक समानता स्थापना, बालिकाप्रति सम्मान अभिवृद्धि र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।