काठमाडौं । यस वर्ष नेपाली बक्स अफिसमा तहल्का मच्चाएको फिल्म ‘लालीबजार’ले प्रदर्शनको एक महिनापछि पनि आफ्नो सफलता कायम राखिरहेको छ। अहिलेसम्म फिल्मले ९ करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको छ भने काठमाडौंसहित देशका विभिन्न सहरका हलहरूमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ।
फिल्मको यही सफलतासँगै निर्माण पक्षले शुक्रबार फिल्ममा समावेश चर्चित गीत ‘मैँ राम्री छु त नि मेरो केको दोष’ को पूरा भिडियो सार्वजनिक गरेको छ। फिल्म रिलिजअघि यस गीतको छोटो अंश मात्र युट्युबमा सार्वजनिक गरिएको थियो, जसले टिकटक, रिल्स र युट्युब शर्ट्समा व्यापक लोकप्रियता हासिल गरेको थियो। हजारौं भिडियो निर्माण भइसकेको यो गीतको पूरा संस्करण भने दर्शकले फिल्मभित्र मात्रै हेर्न पाएका थिए।
लोकप्रिय कलाकार प्रकाश सपूतको शब्द तथा संगीत रहेको गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन्। गीतमा रन्जिता विश्वकर्मा, विन्दू बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको कोरस भोकल रहेको छ। गीतले महिलाको सौन्दर्यलाई कलात्मक ढंगले प्रस्तुत गर्दै समाजमा सुन्दर महिलाले भोग्नुपर्ने दृष्टिकोणमाथि प्रश्न उठाएको छ। "राम्री हुनु केको दोष" भन्ने भावमार्फत महिलाको अस्तित्व र आत्मसम्मानको पक्षमा सशक्त सन्देश दिन खोजिएको देखिन्छ।
प्रदीप लामाको कोरियोग्राफी रहेको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का आकर्षक नृत्यमा देखिएकी छन्। उनीसँगै रवीन्द्र सिंह बानियाँ, मुकुन्द कुमार श्रेष्ठ, जानकी कडायत, आशा पौडेल, तारा शर्मालगायत कलाकारहरूको उपस्थितिले गीतलाई थप जीवन्त बनाएको छ। भिडियोमा राजा साबको भूमिकामा रहेका रवीन्द्रलाई खुसी पार्न स्वस्तिमासहितका महिलाले नृत्य प्रस्तुत गरेको दृश्य देख्न सकिन्छ।
यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत र निश्चल पन्थीलगायत कलाकारहरूको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन्।
फिल्मको व्यावसायिक सफलता र गीतको लोकप्रियताले ‘लालीबजार’लाई यस वर्षको नेपाली फिल्म उद्योगको सबैभन्दा चर्चित उपलब्धिमध्ये एक बनाएको छ।