काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ स्थित सेल्फीडाँडामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। दुर्घटनाले विशेषगरी काभ्रेको रोशी गाउँपालिकालाई गहिरो शोकमा डुबाएको छ, जहाँ एकै गाउँका छ जनाले ज्यान गुमाएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये काभ्रेको रोशी गाउँपालिकाका छ जना, नेपाली सेनाका एक अमलदार तथा सिन्धुलीकी एक युवती रहेका छन्।
प्रहरीका अनुसार रोशी गाउँपालिका-६ निवासी अन्दाजी ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङको ज्यान गएको छ। त्यसैगरी रोशी गाउँपालिका-७ की ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा तथा रोशी गाउँपालिका-८ की ६० वर्षीया प्यारीमाया तामाङको पनि दुर्घटनामा मृत्यु भएको छ।
त्यस्तै, दैलेख स्थायी घर भई हाल नेपाली सेनामा अमलदार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका-४ निवासी २२ वर्षीया सुमी लामाले पनि दुर्घटनामा ज्यान गुमाएका छन्। बनेपाबाट रोशी गाउँपालिका-६ स्थित सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस शुक्रबार दिउँसो बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ३०० मिटर तल खसेपछि दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। एकै गाउँका धेरैले ज्यान गुमाउनुका साथै दर्जनौँ स्थानीय घाइते भएपछि रोशी गाउँपालिकाभर शोकको वातावरण छाएको छ।
यस घटनाले पुनः बीपी राजमार्गको सुरक्षा अवस्था, सार्वजनिक सवारीसाधनको मापदण्ड र दुर्घटना न्यूनीकरणका उपायबारे गम्भीर प्रश्न खडा गरेको छ।