काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राज्यले कुनै पनि व्यवसायमा प्रतिकूल असर पर्ने नीति अवलम्बन गर्न नहुने बताएका छन्। उनले उद्योग, व्यवसाय र निजी क्षेत्रलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको २४औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र लगानीमैत्री वातावरण निर्माण गर्नु रहेको बताए। व्यवसाय फस्टाउने वातावरण बनाउन नसक्दा युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको उनको भनाइ थियो।
उनले नेपाल अझै आयातमुखी अर्थतन्त्रमा निर्भर रहेको उल्लेख गर्दै स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत मात्रै अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए। सरकारले यस दिशामा स्पष्ट रणनीति र प्रभावकारी पहल गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष नेपालले विशेषगरी नेपालको औषधि उद्योग गम्भीर संकटमा परेको उल्लेख गर्दै करिब १५० भन्दा बढी औषधि उद्योग बन्द हुने अवस्थामा पुगेको दाबी गरे। उद्योगी-व्यवसायीका समस्या सुन्न, संवाद गर्न र आवश्यक नीतिगत सुधार गर्न सरकार तयार हुनुपर्ने उनको सुझाव थियो।
उनले कृषि, जलविद्युत्, खनिज स्रोत तथा उत्पादनमूलक उद्योगहरूलाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै प्राकृतिक स्रोत–साधनको उचित उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। सिमेन्ट उद्योगसहित विभिन्न उत्पादनमूलक क्षेत्रहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए।
अध्यक्ष नेपालले सुनचाँदी तथा अन्य वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वैध व्यापार, स्वदेशी उत्पादन र उद्योगको संरक्षण गर्ने नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरे। उनको भनाइमा राज्य, निजी क्षेत्र र व्यवसायीबीच निरन्तर संवाद र सहकार्य हुन सके देशको अर्थतन्त्रलाई सुदृढ बनाउन, रोजगारी बढाउन र उत्पादन तथा निर्यात विस्तार गर्न महत्वपूर्ण योगदान पुग्नेछ।