काठमाडौं । फिफा विश्वकप-२०२६ मा २८ वर्ष लामो प्रतीक्षाको अन्त्य गर्दै पुनरागमन गरेको स्कटल्यान्डले आफ्नो पहिलो खेलमै शानदार जित दर्ता गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले हाइटीलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकप यात्राको सुखद सुरुवात गरेको हो।
स्कटल्यान्डको जितका नायक बने जोन म्याकगिन। उनले खेलको २९औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै टोलीको जितका लागि निर्णायक बन्यो। त्यसपछि दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि थप गोल निस्कन सकेन। हाइटीले बल नियन्त्रणमा स्कटल्यान्डलाई बराबरी चुनौती दिएको थियो। तर अवसरलाई गोलमा परिणत गर्न नसक्दा टोली पहिलो खेलमै अंकविहीन बन्न पुग्यो।
यो जित स्कटल्यान्डका लागि केवल तीन अंकको उपलब्धि मात्र नभई ऐतिहासिक सफलता पनि हो। सन् १९९८ पछि पहिलोपटक विश्वकपमा स्थान बनाएको स्कटल्यान्डले विश्वकपमा ३६ वर्षपछि पहिलो जितको स्वाद चाखेको हो। यसअघि उसले सन् १९९० को विश्वकपमा स्वीडेनलाई २-१ गोलले पराजित गरेको थियो।
यस नतिजासँगै स्कटल्यान्ड समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलबाट तीन अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्षमा रहँदा मोरक्को र ब्राजिलले १-१ गोलको बराबरी खेल्दै समान एक-एक अंक बाँडेका छन्। हाइटी भने अंकविहीन अवस्थामा समूहको पुछारमा छ।
यता, आइतबार सम्पन्न अन्य खेलहरू पनि निकै प्रतिस्पर्धात्मक बने। कतार र स्विट्जरल्यान्डबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो भने मोरक्को र ब्राजिलले पनि समान १-१ गोल गर्दै अंक बाँडे।
विश्वकपको रोमाञ्चकता अझै जारी रहने क्रममा आइतबार अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ। क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ। त्यसैगरी, अर्को महत्वपूर्ण खेलमा बलियो टोली जर्मनीले कुराकाओको सामना गर्नेछ, जुन खेल राति पौने ११ बजेबाट सुरु हुने तालिका रहेको छ।