काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मोरक्कोविरुद्ध हुने समूह चरणको पहिलो खेलमा ब्राजिलियन स्टार नेयमार मैदानमा नदेखिने भएका छन्। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले चोटका कारण नेयमार उक्त खेलका लागि उपलब्ध नहुने पुष्टि गरेका हुन्।
३४ वर्षीय नेयमार केही समयदेखि पिँडुलाको चोटबाट पीडित छन्। उनी अझै पूर्ण रूपमा फिट भई टोलीको नियमित प्रशिक्षणमा फर्किन नसकेको प्रशिक्षक एन्सेलोटीले बताएका छन्।"नेयमार सकेसम्म चाँडो मैदानमा फर्कन कडा मेहनत गरिरहेका छन्", एन्सेलोटीले भने, "हाम्रो अपेक्षा छ कि उनी निको भएर अर्को सातादेखि टोलीसँग पुनः प्रशिक्षणमा सहभागी हुनेछन्।"
उनका अनुसार जुन २० मा हैटीविरुद्ध हुने ब्राजिलको दोस्रो समूह चरणको खेलमा पनि नेयमारको सहभागिता अनिश्चित रहेको छ। ब्राजिलले समूह चरणको अन्तिम खेल जुन २४ मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ।एन्सेलोटीले नेयमारको टोलीमा उपस्थिति केवल उनको प्राविधिक क्षमताका कारण मात्र नभई युवा खेलाडीका लागि प्रेरणादायी भूमिका निर्वाह गर्न सक्ने अनुभवका कारण पनि महत्वपूर्ण रहेको बताए।
चोटका कारण नेयमारले सन् २०२३ यता ब्राजिलको राष्ट्रिय टोली ‘सेलेसाओ’ का लागि कुनै खेल खेल्न सकेका छैनन्। यद्यपि, उनलाई विश्वकप टोलीमा समावेश गरिएको छ। उनले चेल्सीका स्ट्राइकर जुआँ पेद्रो र टोटेनहमका फरवार्ड रिचार्लिसनलाई पछि पार्दै अन्तिम टोलीमा स्थान सुरक्षित गरेका थिए।
ब्राजिलका सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा इतिहास रचेका नेयमारले राष्ट्रिय टोलीका लागि १२८ खेल खेल्दै ७९ गोल गरेका छन्। उनले महान् फुटबलर पेलेको ७७ गोलको कीर्तिमान तोडेका थिए।
सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका नेयमारले फिटनेस समस्यालाई पार गर्न सके यसपटक आफ्नो चौथो विश्वकप खेल्ने अवसर पाउनेछन्। यसअघि उनले सन् २०१४, २०१८ र २०२२ को विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरिसकेका छन्। तर, उनको शारीरिक अवस्थाबारेको चिन्ता भने अझै पूर्ण रूपमा हट्न सकेको छैन।