काठमाडौं। काठमाडौं महानगरका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच राजनीतिक सहकार्यको सहमति भएपछि राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ। आइतबार बिहान दुवै नेताबीच ७ बुँदे समझदारी भएपछि समर्थकहरू उत्साहित देखिएका छन् भने सामाजिक सञ्जालमा प्रतिक्रिया ओइरो लागेको छ।
यस सहकार्यले केवल राजनीतिक वृत्त मात्र होइन, कला र मनोरञ्जन क्षेत्रलाई समेत आकर्षित गरेको छ। बलिउड अभिनेत्री मनिषा कोइरालाले रवि–बालेन मिलनलाई फरक दृष्टिकोणबाट मूल्यांकन गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्,“जब सोच र पद्धति पुरानै रहन्छ, तब विकल्प पनि पुरानै देखिन्छ। विकल्प अनुहारमा होइन-दृष्टि र मूल्यमा हुन्छ।”उनको भनाइलाई धेरैले समर्थन जनाउँदै वैकल्पिक राजनीति सोचमै परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
अभिनेत्री केकी अधिकारी भने रवि-बालेन सहकार्यप्रति खुलेर उत्साहित देखिएकी छन्। उनले दुवै नेताको मिलन देश र जनताको हितमा केन्द्रित रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। त्यसैगरी, अभिनेत्री स्वस्तिमा खड्काले पनि फेसबुकमार्फत सहकार्यलाई स्वागत गर्दै भावनात्मक रूपमा “म नेपाल हाँसेको हेर्न चाहन्छु” भन्ने पंक्ति सेयर गरेकी छन्।
हास्य अभिनेता दीपकराज गिरीले भने यो सहकार्यले देशलाई फेरि अर्को ‘विकल्प’ खोज्नुपर्ने अवस्थाबाट बचाओस् भन्ने अपेक्षा राखेका छन्। उनले पटक-पटक जनताले परिवर्तनको पक्षमा मत दिए पनि अपेक्षित परिणाम नआएको स्मरण गर्दै, यसपटक सकारात्मक मोड आउने विश्वास व्यक्त गरेका छन्।
यसैगरी निर्देशक निश्चल बस्नेत, अभिनेता तथा निर्माता निर्मल शर्मा, अभिनेता जयकिशन बस्नेत, कलाकार कमलमणि नेपाल, निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँ, अभिनेत्री प्रियंका कार्की, अभिनेता नाजिर हुसेन, निर्देशक असिम शाहलगायत थुप्रै कलाकारहरूले पनि रवि-बालेन सहकार्यलाई स्वागत गरेका छन्। उनीहरूको साझा धारणा छ-
यो मिलनले देशले खोजिरहेको वास्तविक परिवर्तनको ढोका खोलोस्।
राजनीतिक विश्लेषकहरूका अनुसार, रवि र बालेनको सहकार्यले वैकल्पिक राजनीतिबारे नयाँ बहस जन्माएको छ। अब प्रश्न केवल सहमति होइन, दृष्टि, मूल्य र कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्नेमा केन्द्रित हुँदै गएको छ।