काठमाडौ । संघीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।
संघीय संसद् सचिवालयले सोमबार सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो ।संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेशिन, विद्युतीय उपकरणलगायतका सामान लुटिएका छन् ।
संघीय संसद् सचिवालयले प्रदर्शनसँग सम्बन्धित भिडियो र सूचना दिन पनि आग्रह गरेको छ ।
यस्तै, काठमाडौं जिल्ला अदालतले पनि लुटपाट भएका सामग्री फिर्ता गरिदिन आग्रह गरेको छ ।लुटपाट भएका सामग्री बुझाइदिन अदालतले सूचना नै जारी गरेको छ ।
यही भदौ २४ गते प्रदर्शनका क्रममा जिल्ला अदालतबाट कम्युटर, स्यापटप, प्रिन्टर, स्क्यानर लगायत अन्य भौतिक सामग्री लुटपाट तथा चोरी भएको बताउदै अदालतले तत्काल सामान फिर्ता गरिदिन आग्रह गरेको हो ।
यस्तै,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सोमबार सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न भनेको हो ।
अख्तियारका अनुसार यी कार्यालयहरूबाट तोडफोड, आगजनी, चोरी र लुटपाट भएको छ । कसैले सामान फेला पारेमा काठमाण्डौको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ । चोरी र लुटपाटमा संलग्नमाथि सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।