काठमाडौं । अन्तत् युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका सामु झुकेका छन् । शक्तिशाली राष्ट्र अमेरिकाको अगाडि लाचार बनेका जेलेन्स्की आफ्ना जनताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव स्वीकार गर्न तयार भएका हुन् ।
बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार आफू रहेको बताएका हुन्।
सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्ने चार–चरणका योजना सुनाए पछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो ।
स्टार्मरले फ्रान्स र अरु केही युरोपेली देशसँग मिलेर युक्रेन युद्धविरामसम्बन्धी प्रस्ताव तयार पारिने बताएका छन्। यस प्रस्तावलाई अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष राख्ने उनले बताएको बीबीसीले जनाएको छ।
ह्वाइट हाउसको विवादित वार्तापछि युक्रेन युद्धबारे छलफल गर्न र युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन बेलायती प्रधानमन्त्री स्टारमरले युरोपेली देश तथा क्यानडाका नेताहरूको बैठक बोलाएका थिए ।
बैठकमा इटाली, फ्रान्स, जर्मनी र क्यानडाका राष्ट्रप्रमुख सहभागी भएका छन् । यस्तै नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, पोल्यान्ड, स्पेन, फिनल्यान्ड, स्वीडेन, चेक रिपब्लिक र रोमानियाका नेतासमेत बैठकमा सहभागी भएका छन्।