काठमाडौं । मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरुको उद्धार गरिएको छ ।
बिहीवार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो ।
उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखनबिरुद्धको अनुसन्धान ब्यूरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारवाहीमा उद्धार गरिएको हो ।
यसलाई मिसन फ्ल्याट नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका १० जना महिलाहरुलाई उद्धार गरी मानव बेचबिखनबिरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो ।
उद्धार गरिएका महिलाहरुको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरु नुवाकोट, काठमाडौं, काँस्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ ।उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पु¥याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताइन् ।
प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीहरुले भारतमा राम्रो तलबमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरुलाई दिल्ली पु¥याउने गरेको र दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनीहरुलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलेको छ ।