काठमाडौँ । उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताए। शुक्रवार आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताए । उनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताए ।
उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे। उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, कुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन । संक्षिप्त समय निकालेर म आएको छु । यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनै पनि कामहरु, प्रक्रियाहरु लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ ।
मन्त्री लिङ्देनले नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिए । उनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत् खपत बढाउनुपर्ने बताए । उनले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताए । उनले देशभित्रै उद्योगधन्दा बढीभन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताए । उनले आउँदो दिनमा देशमा उद्योगधन्दाको व्यापक विस्तार हुनुपर्ने बताए ।
उनले भने, ‘नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा हामी सबै लाग्नुपर्छ, छिमेकीहरुसँग व्यापारको कुरा त छँदैछ तर देशभित्रै पनि यसको खपत बढाउनुर्छ । इलेक्ट्रिकल भेहिकलहरु चलाउनुपर्छ । त्यसलाई सरकारले सजिलो बनाउनुपर्छ । ग्याँसको ठाउँमा बिजुलीबाट खाना पकाउन थाल्नुपर्छ । अहिले पनि म भन्छु, ग्यासबाट खाना पकाउने खर्चको आधा खर्चमा बिजुलीले पाक्छ । इण्डक्शन चलाउनुपर्छ । देशभित्रै उद्योगधन्दाको स्थापना हुनुपर्छ । उद्योगीहरुलाई सरकारले लगानीको सुरक्षित हामी गर्छौँ भन्ने वातावरण बनाउनुपर्छ । त्यसतर्फ हामी उन्मुख हुन्छौँ र देशमा व्यापक रुपमा उद्योगधन्दाको विस्तार हुनुपर्छ ।’
मन्त्री लिङ्देनले सरकारमा आफ्नो पार्टी प्रवेश गरेसँगै विभिन्न शङ्का र उपशङ्काहरु गरिएको भन्दै सरकारमा बसेर शङ्काहरु चिर्ने बताए ।