काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति ३ जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर समेत गरे ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पूर्व प्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २/४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको समेत स्मरण गराए ।
महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राखे । उनले भने, ‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो ।
कुनचाहीँ भूतपूर्व प्रधानमन्त्रीले कुनचाहीँ भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आइतबार फलानोले झुकाउनु भएको थियो । सोमबार अर्कोले ठहरै पार्नुभयो । अहिले तपाईहरु सबैको मनमा के छ ? कुनचाहीँ भूतपूर्वले कुन चाहीँ भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याइराखेको होला । अस्ति सरकारलाई भोट किन हालेको होला । यो कुरा कसको मनमा छैन अहिले । तीनजना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीनवटा प्रधानमन्त्रीको क्लब जस्तो ।’
थापाले भने, ‘मैले अस्ति निर्वाचनको बेलामा भनेको थिए–मलाई निर्वाचित गराएर पठाउनु भयो भने कम्तिमा तीन वटा प्रधानमन्त्रीहरुको खेलको बीचमा ३र४ दिन भएपनि सकूला, नसकूला मेरो ठाउँमा छ । तर म तीन जना पूर्वप्रधानमन्त्रीहरु बीचको भएको खेल, झेल वा यो कुराहरुभन्दा फरक प्रसंगमा २र४ दिन भएपनि मुलुकलाई डोहोर्याउने प्रयास गर्छु । तपाईले याद गर्नुभयो भने मंसीर ४ गतेदेखि यहाँसम्म आइपुग्दा त्यही २र३ दिन भयो होला, जतिखेर नेपाली काँग्रेस संसदीय दलको निर्वाचन भयो । त्यो बेला अरु विषयमा कुराकानी भयो होला । त्योभन्दा बाहिर मंसीर ४ गतेबाट यहाँसम्म आइपुग्दा कुनचाहीँ भूतपूर्व प्रधानमन्त्रीले कुनचाहीँ भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्नु भयो भन्ने बाहेक हामीले पढेको, सुनेको, बझाएको समाचार सुन्नै परेन । हामी यहाँसम्म आइपुग्यौं ।’
महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव समेत राखे ।