काठमाडौं । मधेस प्रदेश सभाको सभामुखका लागि दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले शनिबार प्रदेशसभा सचिवालयमा मनोनयन दर्ता गराएका हुन् ।
मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्टिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।
चार जना स्वतनत्र सांसदले पनि उनलाई समर्थन गरेको एमालेका संसदीय दलका नेता राजकुमार लेखीले जानकारी दिए । त्यसैगरी कांग्रेसबाट उम्मेदवारी दिएका रायलाई अन्य कुनै दलले समर्थन गरेको छैन ।
पार्टीका मधेश प्रदेशका प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले नेकपा एकीकृत समाजवादीले समर्थन गरेको दाबी गरे । तर कसलाई समर्थन गर्ने पार्टीमा निर्णय हुन बाँकी रहेको नेकपा एसकी सांसद बेची लुंगेलीले जानकारी दिइन् ।
उनका अनुसार संसदीय दलको बैठकमा यसबारे निर्णय गरिनेछ । माघ २ गते सभामुख चयन गर्न दुबै जनाबीच प्रतिष्पर्धा हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनबीच मधेस प्रदेशको सभामुखमा एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति भएको छ ।