काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले आफूहरू मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो भएको गुनासो गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय सभा सदस्यको राज्यले दिएको र स्वयम् व्यक्तिगत रूपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् ।
उनीहरूले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे । उनीहरूले राष्ट्रिय सभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधि सभा सदस्यभन्दा तल राखिने गरेको भन्दै आपत्ति जनाए ।
राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसद जस्तो हुने गरेको बताए । उनले राज्यले दिएको मर्यादा र स्वयम् व्यक्तिले पाउने मर्यादासमेत नपाएको गुनासो गरे ।
उनले विभिन्न कार्यक्रममा समेत प्रतिनिधि सभा सांसदलाई पहिला र राष्ट्रिय सभा सांसदलाई पछि बोलाउने गरेको गुनासे गरे । उनले अहिलेको यस्तो अवस्थालाई स्थापित गराउनको लागि समितिले प्रभावकारी काम गर्न आवश्यक रहेको औँल्याए ।
अर्का सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारी रुपमा कार्यान्वयन भए÷नभएको अनुगमन गर्नुपर्ने बताए । उनले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी हुनुपर्ने बताए ।
उनले समितिले थोरै काम र निर्देशन गरी परिणाम ल्याउँदा मात्रै राम्रो हुने अन्यथा छलफलमा मात्रै सीमित हुने बताए । सांसद विमला घिमिरेले राष्ट्रिय सभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादा क्रम सच्याउनुपर्ने माग गरिन्। उनले माथिल्लो सदनको सांसद तल बस्ने तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधि सभा सांसदलाई माथि राख्न नमिल्ने बताइन् ।
सांसद कमलादेवी पन्तले प्रतिनिधि सभा नचल्ने बित्तिकै राष्ट्रिय सभा नचल्ने अवस्था भएर राष्ट्रिय सभाको औचित्य नभएको महशुस भएको बताइन् । उनले राष्ट्रिय सभाको औचित्य नभए राज्यलाई भार बनाउन नहुने स्पष्ट पारिन् ।
उनले प्रतिनिधि सभा नचल्दा राष्ट्रिय सभा पनि नचल्ने यकिन हुनुपर्ने बताइन् । उनले राष्ट्रिय सभा निरीह सभा जस्तो भएको गुनासो गरिन् ।
सांसद शारदादेवी भट्टले राष्ट्रिय सभाका सांसदले कुनै अधिकार नपाएको गुनासो गरिन् । उनले राष्ट्रिय सभामा बोलेका र समितिमा छलफल भएका कुनै पनि विषय कतै कार्यान्वयनमा नआएको दाबी गरिन् ।
उनले राष्ट्रिय सभाका सांसदले संसदमा बोल्ने काममात्रै भएको बताइन् । त्यस्तै सांसद सिंगबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सांसद बौद्धिक रुपमा माथि भए पनि राष्ट्रिय सभा सदस्य नै उनीहरूभन्दा माथि हुने बताइन् ।
उनले राष्ट्रिय सभाका सदस्यको हैसियत वडा सदस्य जतिको समेत नभएको भन्दै गुनासो गरिन् ।