काठमाडौं । क्रिक्रेटर सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ । यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको निवेदनमा बिहीबार सुनुवाइ भएको हो ।
उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो । उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन् ।
सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्।
गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो । यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।
पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ। लामिछानेमाथि नाबालिग ९१८ वर्षमुनि० लाई बलात्कार गरेको आरोप छ ।
तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् । उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो ।
यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ । उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए ।
उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।