काठमाडौं । गण्डकी प्रदेशमा एमाले संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर नियुक्त भएका छन् । मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासको मत लिने अघिल्लो दिन गाहालाई प्रमुख सचेतक चयन गरेका हुन् ।
गाहा गण्डकी प्रदेशमा एमालेबाट लगातार दोस्रो पटक जितेर आउने एकमात्र सांसद हुन् । संविधान सभा सदस्यसमेत रहेका गाहालाई २०७४ सालमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वकै सरकारमा मन्त्री बनाउने तयारी थियो ।
मुख्यमन्त्रीका दाबेदार किरण गुरुङले सरकारमा नजाने अडान लिँदा गाहालाई अर्थमन्त्री बनाउने तयारी थियो । तर, किरण नै अर्थमन्त्री भएपछि गाहा वञ्चित भएका थिए ।
एमालेबाट दोस्रो पटक जितेर आउने अनुभवी सांसदसमेत भएकाले यसपटक गाहामगर पहिलो चरणमै मन्त्री हुने धेरैको अनुमान थियो । मुख्यमन्त्री खगराजले ३ पार्टीका ३ जनालाई मन्त्री बनाउँदा गाहा सरकारमा सहभागी भएनन् ।
एमालेबाट सीता सुन्दास, नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमु बिना विभागीय मन्त्री बनेका छन् । गाहालाई अधिकारीले किन मन्त्री बनाएनन्, चर्चा र चासोको विषय बनिरहेको छ ।
गाहाले भने २९ गते मुख्यमन्त्रीले विश्वासको मत लिने भएकाले सोही प्रयोजनका लागि मात्र आफूलाई प्रमुख सचेतक बनाइएको बताए । नवलपुर–१ ९२० बाट निर्वाचित गाहा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापति बनेका थिए ।
अधिकारीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । विश्वासको मत र मन्त्रिपरिषद बिस्तारबारे छलफल गर्न अधिकारी मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली र बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर फर्किएका छन् ।
अधिकारीले केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई पनि आफूलाई सहयोग गर्न अपिल गरेको बताए । अधिकारीले एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र एक गरी ६० सदस्यीय प्रदेश सभामा ३३ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन् ।