काठमाडौं । गोरखा सदरमुकामको ऐतिहासिक महत्त्वको ठूलो आँगनमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक स्थापना गरिएको छ । नेपाली सेनाको अगुवाइ र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सालिक स्थापना गरिएको हो ।
पृथ्वीनारायणको सालिकको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुधवार आज अनावरण गरे । कार्यक्रममा सेना प्रमुखसहित अन्य तीन वटा सुरक्षा निकायका प्रमुखको पनि सहभागिता थियो ।
सालिकमा अब हरेक दिन नेपाली सेनाले सलामी दिने भएको छ । नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा उहाँको योगदानको कदर गर्दै ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिका ६ को ठूलो आगँनमा सलामी अर्पण सुरु गरिएको गोरखामा रहेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए ।
यस कार्यक्रमअन्तर्गत पृथ्वीनारायण शाहको पालाका सेनाको झल्को दिने गरी कालो दौरासुरुवाल र परम्परागत हातहतियारमा सजिएका नेपाली सेनाको टोलीले हरेक दिन बिहान सूर्योदय र साँझ सूर्यास्तका बेला सलामी अर्पण गर्नेछ । त्यही टोलीले परेड पनि प्रदर्शन गर्ने गणपति विष्टले बताए ।
सेनाले हरेक वर्ष पृथ्वी जयन्तीमा देशैभर राष्ट्रनिर्मातालाई सलामी अर्पण गर्दै आएको छ । नेपाल एकीकरणको उद्गम थलो गोरखा भएकाले त्यहाँ भने हरेक दिन सलामी दिएपछि पृथ्वीनारायण शाहको राष्ट्रपतिको योगदानको अझै प्रचार प्रसार हुने उनले विश्वास व्यक्त गरे ।
सलामी प्रयोजनकै लागि ठूलो आँगनमा पृथ्वीनारायण शाहको सात फिट तीन इन्च उचाइको पूर्णकदको सालिक पनि बनाइएको हो । सालिकसँगै नेपालको नक्सा अङ्कित मनोग्राम र नेपालको झन्डा राखिएको छ ।
सालिक, मनोग्राम र नेपालको झन्डा राख्न २१ लाख रुपैयाँ खर्च भएको गोरखा नगरपालिकाले जनाएको छ ।