काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गल्ती महशुस नगर्ने, आफैँले मात्र जान्ने सुन्ने र सुप्रिमो हुने नेपालको राजनीतिमा देखिएको गलत प्रवृत्तिको सिकार नहुन आग्रह गरेका छन् ।
बुधबार नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियुले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै पुन संसद् विघटनको खतरा कायम रहेकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् ।
‘गल्ती महसुस नै नगर्ने प्रवृत्ति राजनीतिक वृत्तमा देखिन्छ । मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहङ्कार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ठान्ने’, अध्यक्ष नेपालले भने, ‘सुप्रिम र सुप्रिमो ठान्ने प्रवृति देखिन्छ । यसको सिकार वर्तमान प्रधानमन्त्री नभइदिनुहोला है । मेरो आग्रह छ ।’
अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई अवलम्बन गर्न, राम्रो संस्कारलाई पछ्याउँदै विकासको गति लिने काममा भूमिका खेल्न सके इतिहासमा नाम कमाउन सक्ने बताए ।
उनले यसको व्याख्यासहित १५ बुँदे सुझावसहित सरकारलाई समर्थन गरेको बताए । उनले वर्तमान सरकार इमानदारिता र निष्ठाका साथ अघि बढ्नुपर्ने भन्दै यहीँ आदर्शबाट आफ्नो अभिप्रेरित भएको बताए ।
उनले आफ्नो पार्टी केन्द्रीय सरकारमा नगएर प्रतिपक्षमा रहेको भन्दै विश्वासको मत मात्र दिएको बताए । उनले वर्तमान सरकारले आफुसँग गर्ने व्यवहारका आधारमा सरकारसँगको सम्वन्धको सीमा तय हुने बताए ।