काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रदेशको मन्त्री नियुक्त भएका छन् । मंगलबार (आज) बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले थपलियालाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त भएसँगै उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् । मंगलबार नै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलसहित मन्त्री थपलिया र राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
एमालेका थपलियाले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी लिएका छन् भने राप्रपाका थापाले पावरफुल मन्त्रालय नभएको भन्दै बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।
एमालेका थपलिया र राप्रपाका थापा दुवैले यस अघि प्रदेशको मुख्यमन्त्रीमा दावी गर्दै आएका थिए । सत्ता गठबन्धनको आइतबार साँझ बसेको बैठकले बागमतीको मुख्यमन्त्रीमा माओवादी र एमालेबीच आलोपालो गर्ने र पहिलो चरणमा माओवादीले नेतृत्व गर्ने सहमति भएसँगै प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेलको नाम फाइनल भएको हो ।
सत्ता गठबन्धनमा भागबण्डा हुँदा प्रदेशको सभामुख राप्रपा र उपसभामुख एमालेले लिने सहमति भएको छ । प्रदेश सरकारको नेतृत्वका सत्ता गठबन्धनका तीन वटै दल एमाले, माओवादी केन्द्र र राप्रपाका संसदीय दलको नेताहरूले दाबी गरेका थिए ।
भागबण्डा टुंगिएसँगै मुख्यमन्त्रीको रेसबाट एमाले र राप्रपा बाहिरिएको थियो । केन्द्रले भागबण्डा सम्बन्धी उक्त निर्णय गरेसँगै एमालेका थपलिया र राप्रपाका थापाको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको थियो ।
सत्ता गठबन्धन दलको भागबण्डामा प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको पोल्टामा परेपछि उनीहरु मन्त्रीमा झरेका छन् । दुवै मन्त्रीले आफू अनुकुल सशक्त मन्त्रालयका लागि बार्गेनिङ गरिरहेका थिए ।
जस अनुसार थपलियाले प्रदेशको दोस्रो वरीयतामा रहने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएका छन् । निर्वाचनको समयमा भाग्यमानी ठानिएका थपलिया एमाले बागमती प्रदेश संसदीय दलको नेतामा पनि सर्वसम्मत चयन भएका थिए ।
निर्वाचनको समयमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका पार्टीका मुख्य एवम् प्रभावशाली नेताहरु पराजित भएसँगै दलको नेतामा उनी सर्वसम्मत भएका थिए ।
गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा प्रदेशको सभामुख भइसकेका एमालेका सानुकुमार श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ ९ख०बाट, काठमाडौं क्षेत्र नम्बर ३ ख बाट प्रदेशको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भइसकेका रामेश्वर फुयाल, काठमाडौं ५ ९ख०बाट एमाले बागमती प्रदेशका पूर्व प्रमुख सचेतक दिपक निरौला, चितवन क्षेत्र नम्बर २ ९ख०बाट एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र देवी ज्ञवाली पराजित भए ।
मुख्यमन्त्रीको प्रवल दावेदार नै पराजित भएपछि थपलिया भाग्यमानी सावित भएका थिए । केही समय अघि केन्द्रमा सत्ता समीकरण फेरबदल भएर कांग्रेस प्रमुख प्रतिपक्ष बन्दा एमाले एकाएक सत्ताको केन्द्रमा आइपुगेसँगै प्रदेशको मुख्यमन्त्रीमा थपलियाको सम्भावना बलियो बन्दै गएको थियो ।
अध्यक्ष ओलीको निकट रहेका थपलिया एमालेको केन्द्रीय सदस्यसमेत हुन् । चितवन क्षेत्र नम्बर १ ९क०बाट निर्वाचित भएका उनी पार्टीको सिनियर नेताको रुपमा प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत चुनिएका थिए । दलको नेता चुनिएसँगै उनी प्रदेशको मुख्यमन्त्रीको प्रमुख दावेदारको रुपमा प्रस्तुत भएका थिए ।
उनी बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलका विश्वास पात्र हुन् भने राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उनलाई बलियो साथ थियो । उनी तत्कालीन मुख्यमन्त्री पौडेलको प्रमुख राजनीतिक सल्लाहकार थिए ।
एमाले संसदीय दलका नेता थपलियाको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेपछि उनी प्रदेशको मन्त्री बनेका हुन् ।यता प्रदेश संरचना खारेजीको माग राख्दै आएको राप्रपा पनि प्रदेशको मुख्यमन्त्रीको प्रमुख दावेदारको रुपमा प्रस्तुत भएको थियो ।
राप्रपाले प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएपछि मुख्यमन्त्री दाबी गरेको थियो । केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि सरकार गठनका लागि नयाँ विकल्प देखिएसँगै राप्रपा सरकारको नेतृत्वका लागि अघि सरेको थियो ।
प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता रहँदा सत्ताको साँचो राप्रपाको हातमा पुगेको थियो । पार्टीमा सिनियर नेतालाई पछि पार्दै निर्वाचित सांसदको आधारमा प्रदेशको संसदीय दलको नेता चुनिएका थापा प्रदेशको मुख्यमन्त्री बन्न तीव्र लबिङमा थिए ।
पार्टीको केन्द्रीय सदस्य समेत रहेका थापा गत मंसिर ४ मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ ख बाट निर्वाचित सांसद् हुन् । केन्द्रीय सहमति अनुसार बागमती प्रदेशमा सभामुख सहित केही मन्त्रालय राप्रपाले पाउने भएपछि उनको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको थियो ।
राप्रपालाई कांग्रेस सहित एकीकृत समाजवादीको समर्थमा फरक समीकरण बनाउन अफर आए पनि केन्द्रको निर्देशन नपाउँदा प्रदेश सरकारको नेतृत्व गुमाएको थियो । प्रदेशको मन्त्रीमा नियुक्त भएका उनले वरीयता क्रम नमिलेपछि मन्त्रालयको जिम्मेवारी लिएका छैनन् ।
उनले सहमति अनुकुल पावरफुल मन्त्रालयको माग गरेको भए पनि सत्ता गठबन्धनका दलहरुको भागबण्डाका समस्या देखिएको थियो । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको माग गर्दै आएका थिए ।