काठमाडौं । गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्ने निश्चित भएको छ । अधिकारीले आजै बेलुका वा सोमबार बिहानै मुख्यमन्त्री दाबी पेस गर्ने तयारी भएको सत्ता गठबन्धनका एक नेताले बताए ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । गठबन्धनका तर्फबाट एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्री दाबी गर्ने भएका हुन् ।
‘सकेसम्म आजै बेलुका अधिकारीलाई मुख्यमन्त्रीका रूपमा नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेस गर्दैछौँ ।’ पौष २१ गते प्रदेश प्रमुख गुरुङले ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए ।
कास्की क्षेत्र नम्बर १ ९१० बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । एमालेले मुख्यमन्त्रीको रूपमा अधिकारीलाई प्रदेशमा उठाएको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ ।
यी तीन वटा दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ । सत्ता गठबन्धनले आइतबार बेलुकासम्म औपचारिक निर्णय गरे बेलुका नै सरकारको दाबी पेस गर्ने तयारी छ ।
गण्डकीमा एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि अधिकारीलाई भेटेर विश्वासको मत दिने आश्वासन दिएका छन् । यसो भए अधिकारीलाई ३२ सदस्यीयको समर्थन पुग्न सक्छ । प्रदेश सभामा नेपाली कांग्रेकासँग २७ सिट सांसद छन् ।