काठमाडौं । सरकारले अर्थसहित विभिन्न मन्त्रालय र संवैधानिक निकायका सात सचिवको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले यस्तो निर्णय गरेको हो ।
बैठकले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायालाई अर्थ सचिवमा बनाइएको छ भने अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।
रायाको स्थानमा वाणिज्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका सचिव मधु मरासिनीलाई पठाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका अर्का सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा.रामप्रसाद घिमिरेलाई राजश्व सचिव र राजश्व सचिव रामेश्वर दंगाललाई अख्तियारमा पठाइएको छ । दंगाल विगतमा अख्तियारमा एकपटक प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरेका थिए ।