काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा गठन भएको वार्ता समितिलाई दिएको छ ।
हालै सम्पन्न पार्टीको राजनीतिक समितिले विभिन्न दल/संगठनसँग एकता, सहकार्य तथा गठबन्धनसबन्धी वार्ताका गर्नका लागि नेता श्रेष्ठको संयोजकत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको छ ।
सो समितिलाई सरकारले बनाउने साझा न्युनतम कार्यक्रम निर्माणका लागि पार्टीबाट सहभागी गराएको हो । न्युनतम साझा कार्यक्रम बनाउनका लागि आज गठबन्धनको बैठक बसेको छ । सो बैठकमा समितिको तर्फबाट रकम चेम्जोङलाई पठाइएको छ ।
संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने तथा राजनीतिक विचार र सिद्धान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जसपा नेपालले यी मूलभुत विषयमा प्रतिकुल हुने गरी न्युनतम साझा कार्यक्रम आए सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
त्यस विषयमा नेता श्रेष्ठ नेतृत्वमा बनेको समितिले वार्ता गर्ने भएको छ । संविधान संशोधन, नागकिरताको समस्यालागयतका विषय पनि न्युनतम साझा कार्यक्रममा समेटिनु पर्ने जसपाको बटमलाइन रहेको छ ।
यता, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताको विषयमा हाल कुनै कुरा अगाडि नबढेको एक नेताले बताए । कुन पार्टीसँग एकता गर्ने, कसरी गर्ने त्यस विषयमा समितिलाई कुनै प्रकारको म्याण्डेट प्राप्त नभएको सो सदस्यले बताए ।