काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीलाई मनाउन एमाले, माओवादी र कांग्रेसले मनाउँन थालेका छन् । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएपछि ती पार्टीले मनाउन लागिपरेका हुन् ।
तीनै दलका नेताहरूले नागरिक उन्मुक्तिसित छलफल समेत सुरू गरेका छन् । आफ्नो माग पुरा नगरेसम्म सरकारमा सहभागी नहुने अडान राखेको उन्मुक्तिलाई मुख्यमन्त्री दिएर भएपनि सत्ता साझेदारी गर्न दलहरूले प्रयास गरिरहेका हुन्।
उन्मुक्तिलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउन एमाले र कांग्रेस लचिलो देखिएका छन् । यस प्रदेशमा केन्द्रको समिकरणका आधारमा गठबन्धनमा रहेका माओवादी केन्द्र, एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दावी गरिरहेका छन् ।
पुस १८ गते प्रदेश सभाको बैठक बसेर सभामुखको चुनाव पुस २८ गते हुनेगरी बैठक तय गरेपछि सोही अनुसार दलहरू छलफलमा छन् । अनौपचारिक रूपमा दलहरूले नागरिक उन्मुक्तिका सांसद र पदाधिकारीलाई भेटेर सरकार बनाउने विषयमा छलफल गरिरहेको नागरिक उन्मुक्ति पार्टीका एक जना नेताले बताए।
एमालेका एक जना केन्द्रीय नेताले सुदूरपश्चिमको मुख्यमन्त्री उन्मुक्तिले पाउन सक्ने बताए। उनले केन्द्रको समिकरण टिकाउन भएपनि प्रदेशमा उन्मुक्तिलाई सरकार बाहिर राख्न नहुनेमा जोड दिए ।
यस हिसाबले एमाले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व स्विकार्ने पक्षमा देखिएको छ । माओवादी केन्द्रले सुरूवातदेखि नै मुख्यमन्त्रीमा दावी गरिरहेको यो प्रदेशका सांसदहरू भने हाल काठमाडौं पुगेका छन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकार निर्माणबारे छलफल गर्न मंगलबार काठमाडौं हिँडेका हुन् । सुदूरपश्चिम प्रदेशको सरकार बनाउने विषयमा नेपाली कांग्रेस र नागरिक उन्मुक्तिबीच पनि छलफल भएको थियो ।
‘नेपाली कांग्रेसका तर्फबाट मेघराज खड्कासहितका सांसदले उन्मुक्तिका सांसदसित छलफल गर्दैछन् । छलफलअनुसार कुरा अगाडि बढ्छ,’ कांग्रेसका एक नेताले भने।
प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सांसद छन् । यस्तै, नेकपा माओवादी केन्द्रका ११, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का ४ चार, राप्रपा र स्वतन्त्र एकरएक जना सासंद छन् ।
प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्ने भएकोले अहिले दलहरू आ/आफ्नो पक्ष सासंद जुटाउन लागि परेका छन् ।