काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् ।
शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन् ।
उनले पद पावरका लागि भन्दा पनि देशमा सेवा भावले केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको सुनाए । नेता श्रेष्ठ हालसम्म पनि अविवाहित छन् । उनले आफू ‘सिंगल’ नै रहेको भन्दै भएको पैतृक सम्पत्ति समेत बेचेर ऋण तिरेको सुनाए ।
उनले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । आफ्नो नाममा बैंक ब्यालेन्स पनि नभएको उनले बताए ।
श्रेष्ठले भने, राष्ट्रिय सभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रिय सभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन’ । ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।
आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारहरूको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए । उनले आफूले आफ्नै नातेदारका लागि भए पनि नियम र कानुनको उलङ्घन भने नगर्ने बताए ।
तर नियम र कानुनको अधीनमा हुँदाहुँदै पनि कसैले होच्याउने वा कमजोर बनाउन खोजेको अवस्थामा भने आफू चुप नबस्ने बताए ।