काठमाडौं । अव्यवस्थितरूपमा तानिएका बिजुली, केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको हो ।
ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रूपमा चलिरहेको छ ।
विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभाबी झुन्ड्याइएका उपकरणहरूका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको थियो ।
प्राधिकरणले गएको कात्तिकमा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो बिजुली सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आफ्नो संरचना निर्माणरव्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो ।
त्यहीअन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरू हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रमा लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरू निकालिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित उच्चस्तरीय टोलीले आज बुधवार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।
कार्यकारी निर्देशक घिसिङले तत्कालका लागि बिजुलीको नाङ्गो तारलाई फेर्ने, बाङ्गो र मक्किएका पोलहरू हटाएर राम्रा पोलहरू राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए ।