काठमाडौं । चीनले कोभिड १९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला गरेको छ । ३१ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबार (आज) देखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताए । चैत २०७६ मा नेपाल सरकारले कोभिड १९ महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो ।
भन्सार कार्यालय रसुवाकाआनुसार मंगलबार नेपालबाट ६ वटा ट्रकमा नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन् । ती सामान ल्हासासम्म पुग्ने व्यपारीहरुले बताएको भन्सार अधिकृत भण्डारीले बताए ।
तत्कालका लागि चीनले रसुवागढी नाका मात्रै खोलेको हो । सोमबार मात्रै ल्हसास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए ।
सो बारेको जानकारी महावाणिज्य दूतावासले रसुवा जिल्ला प्रशासन र भन्सार कार्यालयलाई गराएको र सोही बमोजिम मंगलबार सांकेतिक रुपमा नेपाली वस्तु निर्यात सुरु गरिएको हो ।
यता सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द अवस्थामा छ । प्रमुख भन्सार अधिकृत दयनन्द केसीकाअनुसार नेपाली वस्तु निर्यात गर्नेबारे चिनियाँ पक्षले कुनै औपचारिक जानकारी गराएको छैन ।
स्थानीय स्तरमा बस्ने समन्वय बैठकका लागि प्रमुख जिल्ला अधिकारीले पत्राचार गरे पनि थप उपलब्धिबारे थाहा नभएको केसीले बताए ।