काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिने तयारी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले सात दलको सरकारको तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याएर अघि बढ्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धन छोडेर माओवादीले एमाले सहित सात दलको नेतृत्वमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी अलमलमा परेको छ ।
एमाले, माओवादीसहितको सात दलको गठबन्धनमा जोडिन नसकेको एकीकृत समाजवादी प्रचण्डका भावी कार्यलाई हेरेर नजिक हुने वा टाढिने निर्णय गर्ने भएको हो ।
अहिले सत्ता पक्ष वा प्रतिपक्ष कता बस्ने निर्णय भई नसकेकाले पर्ख र हेरको अवस्थामा रहेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताए । प्रचण्डलाई कांग्रेसले धोका दिएको एकीकृत समाजवादीको निष्कर्ष छ ।
पहिलो चरणमै कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिने भद्र सहमति गरेपनि पालना नगर्दा गठबन्धन टुटेको निक्र्यौल निकालेको हो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दाबी गर्दा अहिलेको परिस्थिति आएको अध्यक्ष माधवकुमार नेपालको बुझाई छ ।
त्यसैले पछिल्लो समय नेपाल प्रचण्डभन्दा कांग्रेस सभापति शेरबहादुर देउवासँग बढ्दा चिढिएका छन् । नेपाल प्रचण्डसँग नजिक भएकाले सोमबार बेलुका र्कितिपुरमा रहेको पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्न पुगेका थिए ।
पुष्पलालको सालिकमा माल्यार्पण गर्नेक्रममा नेपालले प्रचण्डलाई स्वागत गर्नुका साथै बधाई शुभकामना समेत दिएका थिए ।