काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सञ्जालमा नेता कार्यकर्ताले देउवाको आलोचना सहित गुनासो गरेका छन् ।
आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणवद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले सबै पद गुमाएको छ । खासगरी कांग्रेस सभापति देउवाले र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलो पालो आफू नै प्रधानमन्त्री बन्नु पर्ने अडान राखेका थिए । देउवाले दाहाललाई पहिलो पालो प्रधानमन्त्री दिन नमान्दा आइतबार दाहाल एकाएक कांग्रेस सँगको गठबनधन तोडेर एमालेसँग गबन्धन गर्न पुगेर प्रधानमन्त्रीमा नियुक्त भए । यो घटनालाई लिएर कांग्रेसका नेता र कार्यकर्ताले सामाजिक संजालमा देउवाको आलोचना गरेका छन् । देउवाले आफ्नो व्यक्तिगत स्वार्थ र महत्वकांक्षाकाले कांग्रेसको दीर्घकालीन हित र भविष्य बलि चढाएको कांग्रेसका नेता कार्यकर्ताको ठहर छ ।
देउवाले आफू नै प्रधानमन्त्री बन्नु पर्ने अडान नछोड्दा कांग्रेसले राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पदहरु गुमाएको छ । अब ती सबै पदहरुमा एमाले सहितको गठबन्धनमा भागवण्डन हुनेछ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी मानिएको कांग्रेसमा देउवाले एकल निर्णय गरेर पार्टीलाई झन् कमजोर बनाएको भन्दै देउवाको आलोचना गरिएको छ । एक कांग्रेस नेताका अनुसार आइतबार बिहान भएको गठबन्धन बैठकमा देउवाले दाहाललाई प्रधानमन्त्री पद नदिने अडान राखेका थिए । तर पछि दाहाललाई फोन गरेर प्रधानमन्त्री दिने बताएका थिए, त्यतिबेला देउवा ढिलो भए, दाहालले एमालेसँग गठबन्धन गरीसकेका थिए । २०७८ असार २९ मा कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी,राष्ट्रिय जनमोर्चा लगायत गरेर पाँच दलीय गठबनधन बनेको थियो र देउवालाई प्रधानमन्त्री बनाएको थियो । उक्त गठबन्धन १५ वर्षसम्म निरन्तर जाने भनेर नेताहरुले प्रतिवद्धता जनाएका थिए । तर १८ महिना पनि नपुग्दै गठबन्धन भत्कियो । कांग्रेससँगको गठबन्धनमा रहेको माओवादी फुत्केर एमालेसँग गठबनधन गर्न पुगेको छ । जसमा सात राजनीतिक दल र स्वतन्त्र समेत गरेर १६९ सांसद सामेल छन् र अब उनीहरुबीच नै ती पदहरुको भागवण्डा हुनेछ । दाहालले आजै पद तथा गोपनियताको सपथ लिंदैछन् ।
देउवाको हठले कांग्रेस सत्ता राजनीतिबाट अहिलेलाई बाहिरिएको छ । १८ महिना सत्ता बाहिर रहेको एमाले फेरि सत्तामा आएको छ । तर पनि निर्वाचनमा गठबन्धन गरेर गएको कांग्रेसलाई हाललाई भने घाटा भएको छ । राजनीतिमा हरेका संभावनाको खेल रहे पनि अहिलेलाई भने कांग्रेस संसदमा सबैभन्दा ठूलो दलका रुपमा प्रतिपक्षमा बस्न पुगेको छ । राजनीतिमा चतुर मानिनु भएका देउवाको अहिलेको निर्णयले भने उहाँ अपरिपक्व र कच्चा खेलाडी रहेको भन्ने पुष्टि हुन पुगेको कांग्रेसका नेता कार्यकर्ताको टिप्पणी छ । देउवाका समर्थकहरु भने कांग्रेसलाई कुनै घाटा नभएको दाबी गर्छन् ।
२०७४ मा प्रत्यक्ष निर्वाचनमा २३ सीट जितेको कांग्रेसले देउवाकै कारण अहिले ५७ सीट जितेको दाबी गर्छन् । तर देउवाले दाहाललाई प्रधानमन्त्री नदिदा स्वयं देउवालाई समेत राजनीतिक घाटा भएको छ । सामाजिक संजालमा देउवाको राजीनामा समेत माग्न थनलिएको छ भने कतिपय नेता कार्यकर्ताले पार्टीको विशेष महाधिवेशनको माग गरेका छन् ।