काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए ।
को हुन् प्रचण्ड ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म विसं २०११ साल मङ्सिर २६ गते ढिकुरपोखरी २ कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गरेका छन् ।
२०२८ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट राजनीति सुरु गरेका प्रचण्ड २०३१ सालमा मार्क्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन (चौम) मा प्रवेश गरे । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए ।
२०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक सङ्घको महासचिव भएका प्रचण्ड २०४० सालमा अनेयुसङ्घको अध्यक्ष बने। युवक सङ्घको अध्यक्ष बनेपछि पार्टी नेतृत्वमा पुग्ने उनको यात्रा निकै तीव्र गतिमा अघि बढेको पाइन्छ ।
उनी २०४१ सालमा नेकपा मसालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिट ब्युरो सदस्य बने । २०४२ मा पार्टी विभाजनपछि उनी मोहन वैद्य किरणतिर लागे ।
मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर कान्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडेलगत्तै पार्टी प्रमुख अर्थात् २०४६ मा महामन्त्री बनेका प्रचण्ड अहिलेसम्म पार्टीको प्रमुख नै छन् ।
प्रचण्डकै नेतृत्वमा माओवादीले २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्ध लडेको थियो । २०७८ पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट पनि उनी अध्यक्षमै चयन भएका छन्।
यसअघि २०७४ सालको चुनावपछि एमाले र माओवादीको एकता भएर गठन भएको तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये उनी पनि एक थिए । उनी २०६४ सालमा सम्पन्न संविधान सभा चुनावमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएपछि उनी २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बने।
संविधान सभाको दोस्रो चुनाव २०७० सालमा काठमाडौं १० बाट पराजित भए पनि उनी सिरहा ५ बाट निर्वाचित भए । २०७३ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री बने ।
२०७४ सालको चुनावमा उनी चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा उनी गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।