काठमाडौं । प्रदेश १ प्रदेशसभा सदस्यहरूको शपथग्रहण ११ गतेका लागि तोकिएको छ । शपथग्रहण अगाडि एमाले बाहेक अन्य दलले दलको नेता चयन गर्ने सम्भावना कम भएको छ ।
नेकपा एमालेले आइतबार (भोलि) दलको नेता चयनका लागि दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाएको छ । प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले भोलिको बैठकबाट दलको नेता चयन हुने बताए ।
यता, प्रदेशसभामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने दलको नेता चयन लगायतका विषयमा छलफल गर्न भन्दै ११ गते बैठक बोलाएको छ । दलको नेतामा धेरै नेता आकाङ्क्षी देखिएको कारण सोही बैठकले नेता चयन गर्न कांग्रेसलाई सकस देखिएको छ ।
कांग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सदस्यसमेत रहेका उद्धव थापाले बैठकमा दलको नेता चयनको विषयमा छलफल हुने र चुनावी प्रक्रियाबारे निर्णय हुनसक्ने बताए । नेपाली कांग्रेसको प्रदेशसभामा २९ जना सांसद रहेका छन् ।
यता, संसद्मा तेस्रो शक्तिको रूपमा रहेको नेकपा (माओवादी केन्द्र)ले पनि संसदीय दलको नेता ११ गतेको शपथग्रहण पछि चयन गर्ने जनाएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शपथग्रहण पछि बस्ने दलको बैठकले सहमतिबाटै नेता चयन गर्ने बताए । माओवादी केन्द्रको प्रदेशसभामा १३ जना सांसद रहेका छन् ।
यस्तै संसदको चौथो शक्ति रहेको राप्रपाले दलको नेता शपथग्रहण पछि नै चयन गर्ने जनाएको छ । उक्त पार्टीका नेता भक्तिप्रसाद सिटौलाले ११ गतेको शपथपछि मात्रै दलको नेता चयन हुने बताएका हुन् ।
उनले पनि दलको नेता सर्वसम्मत ढङ्गले चयन गर्ने बताए । राप्रपाको प्रदेशसभामा ६ जना सांसद रहेका छन् ।
चार जना सांसद रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि शपथग्रहण पछि नै दलको नेता चयन गर्ने जनाएको छ । जनता समाजवादी पार्टीको भने प्रदेश १ मा एक जना मात्रै सांसद रहेको छ ।